बदलियो चुनाव प्रचार शैली : कम ‘फिजिकल’, डिजिटल बढी

यानेन्द्र जी सी
बुटवल । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन नजिकिदै जादा राजनीतिक दलहरुमा उत्साह देखिएको छ । तर दलहरुको उत्साहमा मतदाताको उत्साह अपेक्षित देखिदैन ।
राजनीतिक दलहरुलाई निर्वाचन लागेपनि आम मतदाता भने अझै पनि ‘पर्ख र हेर’को अवस्थामा छन । दल र उम्मेदवारहरु भौतिक र डिजिटल रुपमा मतदाताको घरदैलोमा पुग्न थालेका छन । तर कुनै दलप्रति झुकाव नभएका मतदाता भने खुलेर कसैको पक्षमा लाग्न नसकेको दलकै नेताहरु स्वीकार गर्छन ।
निर्वाचन आफ्नो पक्षमा पार्न उम्मेदवारहरुले वडा वडामा सम्पर्क कार्यालय समेत खोल्दै गएका छन । मतदाता भेटघाट गर्न सजिलो होस भन्नका लागि उम्मेदवारहरुले घर भाडामा लिएर सम्पर्क कार्यालय खोलेपनि आम मतदाता भने ती कार्यालयमा आउँदैनन् ।
यस्तो अवस्था रुपन्देहीमा पनि देखिएको छ । रुपन्देहीको निर्वाचन आफ्नो पोल्टामा पार्न नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतले वडा वडामा सम्पर्क कार्यालय खोल्दै गएका छन । झण्डा व्यानर राखेर दिनभर कार्यालय खुला रहेपनि उम्मेदवार र दलका नेताहरु भने ती कार्यालयमा बिरलै भेटिन्छन । यसको खास कारण दलका उम्मेदवार र नेताहरु यतिबेला सानो सानो समूह बनाएर जनताको घरदैलोमा मत माग्न व्यस्त छन । यसअघिका निर्वाचनमा जस्तो उम्मेदवारसंग भिडभाड छैन ।
अहिलेको निर्वाचनमा उम्मेदवार र दलहरुले मत माग्ने शैली पनि बदलेका छन । उनीहरुले घरदैलोमा सिमित जनशक्ति लैजानुको अलवा सन्देशमूलक भिडियोहरूलाई टिकटक एवं छोटा भिडियो बनाइ फेसबुक, यूट्युब लगायतका सामाजिक सञ्जालमा पोस्ट गर्ने, सेयर गर्ने र धेरै भन्दा धेरै दर्शकसम्म पु¥याउने प्रयत्न गरेको देखिन्छ ।
डिजिटल प्रचारको प्रभाव बढ्दो रहेको ठहर गर्दै उम्मेदवारहरु र उनीहरुका कार्यकर्ताले युवा मतदाता लक्षित विशेष रणनीति अख्तियार गर्न खोजेका छन । निर्वाचनमा पार्टीको उम्मेदवारलाई चिन्ने र नचिन्ने भन्दा पनि डिजिटल प्रचार शैलीले बढी प्रभाव पार्ने अवस्था आएको युवा उम्मेदवारहरुको बुझाई देखिन्छ । त्यसो त जेन्जी मुभमेन्टका कारण यसपटकको निर्वाचनमा युवाले नै उम्मेदवार हुने बढी अवसर पाएका छन ।
तर सत्य यो हो की मतदाता मिश्रित छन । डिजिटल प्रविधिबारे थाहा नै नभएका मतदाता पनि छन भन्ने कुरा दल र उम्मेदवारले भुले जस्तै गरेका छन । बजार क्षेत्रमा डिजिटल प्रचारको प्रभाव बढी छ । तर गाँउ र अझै सुदुर गाँउहरुमा यसको प्रभाव कम छ । यसकारण युवा पुस्ताले डिजिटल माध्यमको प्रयोग बढी गर्ने भएकाले उनीहरूलाई दल र उम्मेदवारले डिजिटल अभियानमा जोड्नु पर्दछ । र, जसले आधुनिक प्रविधिको प्रयोग गर्न सक्दैनन्, उनीहरुलाई मतदाता शिक्षामा जोड्दै आफ्नो दल र उम्मेदवारको पक्षमा मत माग्न स्पष्ट ऐजेण्डा र चुनाव चिन्हसहित घरदैलोमा जानै पर्दछ ।
समय बदलिएको छ । निर्वाचनलाई लक्षित गरेर आयोजना गरिने ठूला ठूला सभा समारोहप्रति जनताको मात्र होईन, दलहरुको मोहमा पनि कमी देखिन्छ । यही कारण थोरै कार्यकर्ता लिएर उम्मेदवारहरु मतदाताको घरदैलोमा पुग्ने गरेका छन । यद्यपी निर्वाचन आयोगले उम्मेदवार र दलहरुका लागि निर्वाचन आचारसंहिता जारी गरिसकेको छ ।
निर्वाचन कस्ले जित्ने भन्नेमा दलहरुमा रस्साकसी छ । रुपन्देहीमा नेकपा एमालेका नेता एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेपाली कांग्रेसमा उम्मेदवार एवं उद्योगी चुन्नप्रसाद पौडेल, नेपाली कम्युनिष्ट पार्टीका लोकप्रिय युवा नेता सुवास पाण्डे विश्वदीप र राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेल चुनावी मैदानमा छन । यसका अलवा अन्य साना दलहरु र स्वतन्त्र उम्मेदवार समेत चुनावमा होमिएका छन । यी सबैको ‘तार्गेट’ मतदाता कन्भिन्स गर्नुमा छ । तर रुपन्देहीका मात्र होईन, देशैभरका उम्मेदवारहरुले घरदैलो भन्दा पनि सामाजिक संजालबाट नै आफ्ना ऐजेण्डा पेश गर्ने र मत माग्ने शैली अपनाएका छन । यसको परिणाम कस्तो आउने हो त्यो भने अहिले नै अनुमान गर्न सकिने अवस्था छैन ।
वरिष्ठ अधिवक्ता तथा पूर्व सांसद डा. खिमलाल देवकोटाका अनुसार आगामी फागुन २१ गते हुने निर्वाचनको लागि नयाँ भन्दा पूराना राजनीतिक दलहरूमा बढी उत्साह देखिएको छ । पुराना दलहरू सबै क्षेत्रमा संगठित रूपमा उपस्थित छन् । त्यसैले उनीहरूको उत्साह नयाँ दलहरूको तुलनामा कम देखिँदैन ।
जेहोस, सत्ता पल्टाउने गरी भएको जेन्जी आन्दोलन मूलतः आधुनिक प्रविधि सामाजिक संजालको प्रयोगबाट भएकोले दल र उम्मेदवारहरुले पनि प्रचार शैली बदल्नुलाई समयको आवश्यकताको रुपमा बुझ्न सकिन्छ ।
आसन्न निर्वाचनमा देशभरबाट तीन हजार ३ सय भन्दा बढी उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन । उम्मेदवारहरुले यस पटकको निर्वाचनमा जसरी भौतिक रुपमा घरदैलो कम गर्दै सामाजिक संजालको प्रयोग गरेका छन , त्यसले ल्याउने परिणाम भने हेर्न बाँकी नै छ ।
बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको राज्य सञ्चालनको अवस्थाप्रति असन्तुष्टि जनाउँदै राज्य राज्यजस्तो नरहेको टिप्पणी गरेका छन्। प्रेस ...
दाङ । दाङको देउखुरीमा मध्यराति भएको सडक दुर्घटनामा एक युवकको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। ...
बुटवल । नवलपरासीकाे रामग्राममा ट्रकको ठक्करबाट रुपन्देहीका पत्रकार पोषकान्त पोखरेलको निधन भएको छ । आज शुक्रबार दिउँसो पश्चिमबाट पूर्वतर्फ जाँदै ...