फर्केर हेर्दा : जनयुद्धले निम्त्याएको एउटा ऐतिहासिक खबर !

यानेन्द्र जी सी
२०५८ साल मंसिर ८ गते । साँझको समय थियो । त्यतिबेला म बुटवलबाट प्रकाशित हुने दैनिक लुम्बिनीमा कार्यरत थिए । युद्वरत माओवादी युद्वविराम गरेर तत्कालिन सरकारसंग वार्तामा आएको थियो । तर सरकार – माओवादी वार्ता निष्कर्षतिर नगएपछि माओवादी पुनः युद्वको मोर्चा बलियो बनाउन जुटेको सरकारी अधिकारीहरूले नै बताउन थालिसकेका थिए । यतातिर हाम्रो चासो कम थियो । समाचारमै बढी ध्यान हुने कुरा स्वभाविक थियो ।
मंसिर ८ गते साँझ करिब पौने ९ बजेतिर कास्कीको ल्याण्डलाईन फोन (कोड नम्बर )बाट फ्याक्स आयो । हेर्दा नेकपा माओवादीले बरिस्ठ नेता डा. बावुराम भट्टराईको नेतृत्वमा केन्द्रीय जनसरकार घोषणा गरेको थियो । सम्पादन टेबलमा आएर हतार हतार समाचार लेखे । र, कम्प्युटर कोठामा टाईप गर्न दिँए । पत्रिकाको अरू सबै सेटिङ्ग सकिएको थियो । त्यो समाचार नयाँ थियो, व्यानर न्यूज बन्यो ।
झण्डै पौने १० बजेको हुँदो हो, घर जानै लाग्दा फोनको घण्टी बज्यो । अपरिचित एकजनाले केही समयमै दाङ्गमा भिषण आक्रमण हुन लागेको अपुष्ट खबर दिए । अब निद हराम भो । दाङ्ग संवाददाता सागर पण्डितलाई फोन गरे । पत्रिकाको सेटिङ्ग सकिएकाले डिजाईनरले अत्ताउन थाले । यत्तिकैमा सागरजीको फोन आयो । आत्तिदै सागरको बोली थियो – लौ यहाँ त भिषण हमला शुरू भो ।
मसंग रहेका साथीहरूलाई बमबारीको आवाज सुनाएपछि शान्त भए । सागरजीको र मेरो पटक पटक कुरा हुन थाल्यो । तर समाचारको लागि आक्रमण भएको भन्ने बाहेक थप केही समाचार पुष्टि हुन सकेन । मन आत्तिएको छ । के समाचार लेख्ने होला भन्ने झन चिन्ता भो ।
करिब साढे ११ बजेतिर हुनु पर्दछ, दाङ्गबाट प्रकाशित हुने नयाँ युगबोध दैनिकमा फोन गरे । फोन त्यस पत्रिकाका सम्पादक नारायण शर्मा ( नारायण गुरु ) ले उठाउनु भयो । परिचय दिए, उहाँले आत्तिदै भिषण हमला भएको र आफूहरू खाटमुनी लुकेको बताउनुभयो । थप समाचार पाउने चाहना अधुरै रह्यो ।
सागरजीले फोन गर्दै भन्नू भो – ‘माओवादीले भेरी लाईट बाल्दै आक्रमण गरेका छन । यहाँ त पुरै उज्यालो छ । जति आवाज सुने पनि खबर बन्ने ठाउँ नै भेटिएन ।’
रातको झण्डै २ बजेको हुनुपर्दछ, माओवादीले जिल्ला प्रहरी कार्यालय, सिडियो कार्यालय र सेनाको व्यारेक कव्जा गरेछन । बजारमा बिजयी जुलुस निकाले । नारा घन्काए । यो सब सुनेर के गर्नु ? फेरि पनि परिणाम के भयो भन्ने थाहा हुन सकेन । बडो चिन्तित मुद्रामा रहेकै बेला फोनको घण्टी बज्यो । बोल्नेले भने – ‘हात हतियार पुरै कव्जा गरियो । केही सेना, प्रहरी पनि कव्जामा छन । केही लडाइँमा मरे । सिडिओ, एसपी पनि हाम्रो नियन्त्रणमा छन ।’
थोरै सूचना त पाईयो तर यसलाई पुष्टि गर्न महाभारत भयो । सागर जी र म लगातार समाचार स्रोतहरु खोज्न लागेर समाचार लेख्ने अवस्था बनाईयो । व्यानर न्यूज बनाउने गरी समाचार लेखँे । शिर्षक राखे – ‘दाङ्ग जिल्ला माओवादीको कव्जामा, प्रशासकीय भवनहरूमा आगो दन्कियो ।’
बिहान साढे ४ बजेतिर पत्रिकाको सेटिङ्ग सकियो । रातभरीको अनिदोले निद्रा लागेन । छ बजेतिर बसपार्क गए । छापिएको पत्रिका हेर्न खोसाखोस थियो । पत्रिकाको महत्व बढेको देख्दा आनन्द लाग्यो । दाङ्ग कव्जाको खबर बुटवलका अन्य पत्रिकाले मात्र होईन, देशैभरका कुनैपनि पत्रिकाले कभरेज गरेका थिएनन् । समाचार ब्रेक गर्न पाउँदा एउटा पत्रकारलाई खुसी नलाग्ने कुरै थिएन । फेरी माओवादीले तत्कालिन शाही सेनामाथि हमला गरेको यो पहिलो घटना थियो । तर अर्को दुईदिन पछि देशले अप्रिय खबरसंगै पीडा भोग्नु पर्याे, किनकी सरकारले माओवादीलाई दमन गर्ने नाममा २०५८ मंसिर ११ गते संकटकाल लगायो । उच्च तहका माओवादी नेताका टाउँकाको मूल्य तोकिए ।
यतिमात्र होइन, सडकमा सेनाका बख्तरबन्द गाडीहरू गुड्न थाले । पत्रिकाका कार्यालयहरूमा सेनाका जवानहरू हतियारसहित तैनाथ हुन थाले । हुकुमी आदेश मानेर समाचार लेख्नुभन्दा पत्रिका बन्द गर्नु जायज ठानिएपछि धेरै दिन बुटवलका पत्रिका बन्द भए । हामीले सेनाको आदेशमा भनिएजस्तो माओवादीलाई आतंककारी भन्न र लेख्न सकेनौं । बरू दमनका बिरूद्व भूमिगतरूपमा अरू नै नाम राखेर पर्चा पत्रिका निकाल्यौ । बाटोघाटोमा लुकेर छर्याै । चोक चोकमा बाड्यौ । भलै ज्यान जोगाउन सेनाको गाडी आउदा कुलेलम ठोक्नु पथ्र्याे, ठोक्थ्यौ । त्यसपछिका कहाली लाग्दा घटनाबारे सविस्तार उल्लेख गर्दै गरौला ।
आज फागुन १ गते । तत्कालिन नेकपा माओवादीले जनयुद्ध शुरु गरेको दिन । यही दिन समेतको कारण देशबाट राजतन्त्रको अन्त्य भयो । ठूलो त्याग, तपस्या र बलिदान नभएको भए आजको व्यवस्था आउन कठिन थियो । यो सत्य हो । सबैले मनन् गरौ, देश सहजै आजको अवस्थामा आईपुगेको हाईन ।
बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको राज्य सञ्चालनको अवस्थाप्रति असन्तुष्टि जनाउँदै राज्य राज्यजस्तो नरहेको टिप्पणी गरेका छन्। प्रेस ...
दाङ । दाङको देउखुरीमा मध्यराति भएको सडक दुर्घटनामा एक युवकको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। ...
बुटवल । नवलपरासीकाे रामग्राममा ट्रकको ठक्करबाट रुपन्देहीका पत्रकार पोषकान्त पोखरेलको निधन भएको छ । आज शुक्रबार दिउँसो पश्चिमबाट पूर्वतर्फ जाँदै ...