प्रदेशको दिगो विकास र समृद्धिका लागि सबै पक्ष जिम्मेवार बनौं : प्रदेश प्रमुख घर्तीमगर

देउखुरी (दाङ) । लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेशको दिगो विकास र समृद्धिका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका छन ।
लुम्बिनी प्रदेश सरकार र लुम्बिनी प्रदेश सभाको संयुक्त आयोजनामा बुधवार राप्ती उपत्यका देउखुरीमा प्रदेश स्थापना दिवसको अवसरमा आयोजित मूल समारोहमा बोल्दै उनले प्रदेश कस्तो बनाउने भन्ने कुरा शासन गर्नेहरूको काँधमा आएको बताए ।
उनले भने, ‘हामीले लुम्बिनी प्रदेशलाई फरक ढंगले चलाउनुपर्छ । तीन–चार वटा कुरामा समस्या पनि छ र तीन–चार वटा कुरामा प्रतिस्पर्धा पनि छ । मिलाउन सक्यौं भने धेरै राम्रो प्रदेश बन्न सक्छ ।’
सबै पक्ष र तहको आवाज प्रदेशले सुन्नुपर्ने धारणा राख्दै प्रदेश प्रमुख घर्तीमगरले इतिहासको कालखण्डमा शासन गर्नेहरूको निर्णयका आधारमा ठाउँहरूको विकास भएको स्मरण गरे । उनले प्रादेशिक संरचना र राजधानी क्षेत्रलाई खेतको फाँटभन्दा उचो क्षेत्रमा विस्तार गर्नुपर्ने धारणा व्यक्त गरे ।
‘खेतको फाँट जोगाउनुपर्छ । मैले सुझाव दिँदा पनि त्यसैगरी दिएको थिएँ,’ उनले भने, ‘धान फल्ने फाँट जोगायौं भने कोही भोकै बस्नुपर्दैन ।’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश स्थापना भएको आठ वर्ष पूरा हुँदै गर्दा संघीयतालाई बलियो बनाउने काम प्रदेशबाट भएको बताए ।
संघीयताका कारण जनताको घरआँगनमा विकास पुगेको र जनताले त्यसको अनुभूति गर्न पाएको उनको भनाइ छ । ‘आज संघीयताका कारण प्रदेश स्थापना भयो । प्रदेशले गरेका कामहरूको अनुभूति नागरिकहरूले गर्न पाउनुभएको छ,’ उनले भने,‘आज केही भएन, प्रदेश बोझिलो भयो भन्नेहरूलाई एक पटक प्रदेशमा भएको खर्चहरूको विवरण हेरेर मात्रै मूल्यांकन गर्न अनुरोध गर्दछु । गलत भाष्य खडा गर्ने काम नगरियोस् ।’
प्रदेश सभामुख तुलाराम घर्तीमगरले प्रदेश सभा र प्रदेश सरकारले जनताको आधारभूत आवश्यकतासँग जोडिएका क्षेत्रमा कानुन निर्माण गर्ने र अनुभूति हुने गरी कार्यान्वयन गर्ने पक्षलाई बलियो बनाउँदै लगेको बताए ।
उनले ऐन र कानुन निर्माण गरेर प्रदेशलाई यो अवस्थासम्म ल्याउन सफल भएको बताए । ‘कानुन निर्माणमा लुम्बिनी प्रदेश अन्य प्रदेशको तुलनामा अग्रणी स्थानमा छ । कार्यान्वयन तहमा पनि त्यसैगरी अघि बढिरहेको छ,’ उनले भने ,‘अब हामी जनतासँग जोडिएका कानुनहरू बनाउने गरी भूमिका बढाइरहेका छौं ।’
पूर्व मुख्यमन्त्री जोखबहादुर महराले प्रदेशको विकासका लागि सुशासन आवश्यक रहेको बताए । समृद्ध र आत्मनिर्भर प्रदेश बनाउन पूर्वाधार तथा मानवीय श्रमशक्तिको विकास अनिवार्य रहेको उनको भनाइ छ ।
कार्यक्रममा प्रदेश सभाले आयोजना गरेको खुला वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने गलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालय बर्दियाकी पूर्णिमा ओली, दोस्रो स्थान हासिल गर्ने माउन्ट भ्यु इङ्लिस बोर्डिङ स्कुल घोराहीकी सलिना पौडेल र तृतीय स्थान हासिल गर्ने सोही विद्यालयका सिद्धान्त अधिकारीलाई पुरस्कृत गरिएको थियो ।
प्रमुख सचिव कृष्णप्रसाद काप्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रदेश सभाका उपसचिव लोकमणि पाण्डेले गरेका थिए ।
नेपालगन्ज । बाँकेको कोहलपुरबाट बर्दियाको राजापुरतर्फ जाँदै गरेको एम्बुलेन्सले आज आईतवार बिहान चार जनालाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। ...
सल्यान । सल्यानमा जन्ती सवार जीप दुर्घटना हुँदा तीन जनाको मृत्युु भएको छ भने १५ जना घाइते भएका छन् । ...
भैरहवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भैरहवा मालपोत कार्यालयका एक कर्मचारीलाई दुई लाख घुससहित पक्राउ गरेको छ । सर्जमिन मुचुल्काका ...