अब कृषि नै उत्पादनको मुख्य केन्द्र : उम्मेदवार खान

बुटवल । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देहीका प्रतिनिधि सभा सदस्यका उम्मेदवार फैज अहम्मद खानले रुपन्देहीको ३ नं क्षेत्र कृषिको लागि उर्बर भूमि रहेको भन्दै उक्त क्षेत्रलाई कृषि उत्पादनको मुख्य केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
रुपन्देहीको क्षेत्र नं ३ का कृषकसंग चुनावी भेटघाट तथा जनसंवाद गर्दै खानले देश कृषि प्रधान भए पनि सिंचाईंको अभावले किसानले समस्या भोगिरहेको उल्लेख गर्दै अव स्थायी रुपमा समाधान खोजिने बताए ।
उनले खेतमा वर्षभरि पानी पुग्ने व्यवस्था नभएसम्म उत्पादनमा वृद्धि सम्भव नभएको भन्दै सिंचाईंका लागि बोरिङ, ट्युबवेल, नहर मर्मत तथा वर्षाको पानी संकलन प्रणाली विस्तारलाई पहिलो प्राथमिकतामा राखिने बताए ।
‘आकाशे पानीको भरमा मात्र कृषि गर्नु किसानका लागि जोखिमपूर्ण भयो,’ उनले भने, ‘किसानको सुझाव अनुसार क्षेत्र नम्बर ३ मा सिंचाईंको स्थायी संरचना निर्माण गरेर उत्पादन बढाइने छ ।’
उम्मेदवार खानले किसानलाई समयमै गुणस्तरीय मल र उन्नत बीउ उपलब्ध गराउने प्रतिबद्धता समेत जनाए । उन्नत प्रविधिको प्रयोगबाट कम लागतमा बढी उत्पादन सम्भव हुने भन्दै उनले राज्यको तर्फबाट आधुनिक कृषि मेसिन र उपकरण सहज रूपमा उपलब्ध गराइनु पर्ने आवश्यकतामा जोड दिए । ‘अहिले पनि धेरै किसान परम्परागत तरिकाले खेती गर्दै आएका छन्,’ उनले भने, ‘अब आधुनिक प्रविधिबाट सिंचाईं र खेती प्रणाली विकास गरिनु पर्दछ ।’
आफू पनि कृषि पेशाबाट जोडिएको र माटोको स्वभाव तथा किसानको पीडा बुझ्ने बताउँदै रुपन्देही क्षेत्र नं ३ का उम्मेदवार खानले आफू व्यवहारिक योजनासहित चरनावी मैदानमा उत्रिएको दाबी गरे । उत्पादन बढेसँगै बजार व्यवस्थापन चुनौती हुने भएकाले किसानले उचित मूल्य पाउने व्यवस्था गरिने उनले बताए । सरकारी समर्थन मूल्य लागू गर्ने, स्थानीय संकलन केन्द्र स्थापना गर्ने र बिचौलियाको नियन्त्रण गरेर किसानलाई प्रत्यक्ष फाइदा पुर्याइने योजना उनले अघि सारेका छन् ।
त्यसैगरी परम्परागत अन्नबालीसँगै नगदे बालीतर्फ किसानलाई आकर्षित गर्ने, तालिम तथा प्राविधिक सहयोग उपलब्ध गराउने र कृषि उत्पादनलाई बजारीकरणसँग जोड्ने रणनीति अपनाइने खाँनले बताए । चुनाब जितेपछि रुपन्देही–३, लाई आधुनिक कृषि प्रविधियुक्त, आत्मनिर्भर र किसानमैत्री क्षेत्र बनाउने उनको लक्ष्य छ । किसानको समृद्धिबाटै समग्र क्षेत्रको विकास सम्भव हुने उनको भनाई छ ।
कपिलवस्तु । कपिलवस्तुमा बोर्डिङ स्कुलको बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार एक जनाको मृत्यु भएको छ भने चालक घाइते ...
बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको राज्य सञ्चालनको अवस्थाप्रति असन्तुष्टि जनाउँदै राज्य राज्यजस्तो नरहेको टिप्पणी गरेका छन्। प्रेस ...
दाङ । दाङको देउखुरीमा मध्यराति भएको सडक दुर्घटनामा एक युवकको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। ...