आजदेखि बुटवलमा उल्लासमय ‘दीपावली सडक खाना महोत्सव’

बुटवल । तिहारको उल्लास, रैथाने परिकारको स्वाद र सांस्कृतिक प्रस्तुतिसहित बुटवलमा आजदेखि तीनदिने ‘दीपावली सडक खाना महोत्सव’ सुरु हुँदैछ। दीपावलीको उत्सवलाई थप रौनकपूर्ण बनाउने उद्देश्यले आयोजना गरिएको महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा बुटवल उपमहानगरपालिका–८, सुख्खानगरस्थित शुक्रपथमा आज कार्तिक २० देखि २२ गतेसम्म महोत्सव सञ्चालन हुनेछ। महोत्सव हरेक दिन अपराह्न ४ बजेदेखि राति १० बजेसम्म चल्नेछ। महाेत्सवकाे उद्घाटन आज अपरान्ह ४ बजे हुने भएको छ ।
महोत्सवमा खानाका परिकार, तिहारका सामग्री तथा स्थानीय उत्पादनका गरी करिब ५० वटा स्टल रहने संघका महासचिव वसन्तप्रसाद ढकालले जानकारी दिए।
महोत्सवमा विभिन्न जातजातिका मौलिक संस्कृति र परम्परासँग जोडिएका रैथाने खानाका स्वाद चाख्न पाइनेछ। साथै फूलमाला, खाद्यान्न, स्थानीय उत्पादन तथा तिहारमा आवश्यक सामग्रीको प्रदर्शनी र बिक्रीसमेत गरिने आयोजकले जनाएको छ।
स्थानीय उत्पादन र व्यवसायलाई एउटै थलोबाट बजारसँग जोड्ने उद्देश्यले महोत्सव आयोजना गरिएको संघका अध्यक्ष नरिश्वर शर्मा पौडेलले बताए। उनका अनुसार महोत्सवले स्थानीय उद्यमी तथा व्यवसायीलाई आफ्नो उत्पादन प्रवर्द्धन र बजार विस्तार गर्ने अवसर प्रदान गर्नुका साथै बुटवलको आर्थिक तथा व्यावसायिक गतिविधिलाई थप चलायमान बनाउनेछ।
महोत्सव खानपानमा मात्रै सीमित रहने छैन। स्थानीय कला, संस्कृति र मनोरञ्जनलाई समेत प्राथमिकता दिइएको छ। प्रचारप्रसार समिति संयोजक गणेश भट्टराईका अनुसार महोत्सवको पहिलो दिन उद्घाटनपछि स्थानीय ब्यान्डको सांगीतिक प्रस्तुति रहनेछ। दोस्रो दिन देउसीभैलो प्रतियोगिता आयोजना गरिनेछ भने अन्तिम दिन राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुतिले महोत्सवलाई थप आकर्षक बनाउनेछ।
तिहारको पारिवारिक उल्लासलाई सार्वजनिक उत्सवसँग जोड्ने प्रयासका रूपमा हेरिएको यो महोत्सवले स्थानीय परिकारको पहिचान, सांस्कृतिक विविधताको संरक्षण र व्यापारिक गतिविधि प्रवर्द्धनमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।
तीन दिनसम्म शुक्रपथलाई खानाका परिकार, संगीत र संस्कृतिको साझा उत्सवस्थल बनाउने तयारीसँगै बुटवलमा तिहारको रौनक थपिने देखिएको छ।
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण यतिबेला दुई देशबीचको कूटनीतिक सम्बन्धका कारण मात्र चर्चामा छैन, उनले अपनाएको नयाँ कार्यशैलीका ...
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि आइतबार भारत प्रस्थान गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण ...
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा हुने भारत भ्रमणका लागि ३५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नाम सार्वजनिक भएको छ। प्रधानमन्त्रीको सचिवालयले ...