यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको कार्यतालिका

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि आइतबार भारत प्रस्थान गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह नेपाल एयरलाइन्सको नियमित उडानमार्फत दिउँसो १ः४५ बजे नयाँ दिल्ली प्रस्थान गरेका हुन्।
प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार असिम शाहलगायत सहभागी छन्। उच्च सरकारी अधिकारी, व्यवसायी तथा सरकारी सञ्चारमाध्यमका प्रतिनिधिसहित भ्रमण टोलीमा कुल ३५ सदस्य रहेका छन्।
यस्तो छ भ्रमणको कार्यतालिका
भ्रमणको पहिलो दिन आइतबार प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले शिष्टाचार भेट गर्ने कार्यक्रम छ। त्यसैगरी, भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि शिष्टाचार भेट गर्नेछन्।
भ्रमणको दोस्रो दिन सोमबार मंसिर ७ गते प्रधानमन्त्री शाहले नयाँ दिल्लीस्थित राजघाटमा रहेको महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम तय भएको छ।
सोही दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रधानमन्त्री शाहको प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ। वार्तामा दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने तथा आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल हुने कार्यक्रम छ।
वार्ताका क्रममा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल र पूर्वाधार विकासलगायतका विषय प्राथमिकतामा रहनेछन्। साथै शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन तथा मानव संसाधन विकासका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा विभिन्न समझदारीपत्र आदानप्रदान गरिनेछ।
भ्रमणका अवसरमा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार र ऊर्जा सहकार्यसँग सम्बन्धित सम्पन्न परियोजनाहरूको उद्घाटन तथा नयाँ परियोजनाहरूको शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको छ।
प्रधानमन्त्री शाह नेतृत्वको टोली भ्रमण सम्पन्न गरी सोमबार साँझ ६ः३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कने तालिका छ।
भ्रमण टोली नेपाल फर्किएपछि परराष्ट्रमन्त्री शिशिर खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी भ्रमणका उपलब्धि र छलफलका विषयमा जानकारी गराउने छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण यतिबेला दुई देशबीचको कूटनीतिक सम्बन्धका कारण मात्र चर्चामा छैन, उनले अपनाएको नयाँ कार्यशैलीका ...
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा हुने भारत भ्रमणका लागि ३५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नाम सार्वजनिक भएको छ। प्रधानमन्त्रीको सचिवालयले ...
दाङ । दाङकाे लमही नगरपालिका–९ शिवखोलानजिक पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहकबस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । आज बिहीबार बिहान ...