तिहारको रौनक थप्दै भाेलिदेखि बुटवलमा तीनदिने ‘दीपावली सडक खाना महोत्सव’

अजरन्यूज संवाददाता
बुटवल । तिहारको उल्लास, मौलिक खानाका परिकार, देउसीभैलोको गुञ्जन र सांस्कृतिक प्रस्तुतिले यसपटक बुटवलको शुक्रपथ झनै रंगीन बन्ने भएको छ।
दीपावली पर्वलाई उत्सवमय बनाउँदै बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले तीनदिने ‘दीपावली सडक खाना महोत्सव’ आयोजना गर्ने तयारी गरेको छ।
तिहारको सांस्कृतिक तथा सामाजिक रौनकलाई सडकमा उतार्दै स्थानीय खानपान, कला, संस्कृति र व्यापारलाई एउटै उत्सवमा जोड्ने उद्देश्यसहित भाेली कात्तिक २० देखि २२ गतेसम्म बुटवल उपमहानगरपालिका–८, सुक्खानगरस्थित शुक्रपथमा महोत्सव सञ्चालन हुँदैछ।
महोत्सवले तिहारलाई घरआँगन र बजारमा मात्रै सीमित नराखी बुटवलकै साझा उत्सवका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ। स्थानीय उत्पादन र रैथाने स्वादको प्रवर्द्धनसँगै विभिन्न समुदायका मौलिक संस्कृति तथा परम्परालाई एउटै थलोमा प्रस्तुत गर्ने तयारी आयोजकको छ।
बुटवल उद्योग वाणिज्य संघका महासचिव वसन्तप्रसाद ढकालका अनुसार महोत्सवमा ५० वटा स्टल रहनेछन्। अपराह्न ४ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने महोत्सवमा स्थानीय तथा विभिन्न जातजातिका मौलिक खानाका परिकार, परम्परागत रैथाने स्वाद, तिहारमा आवश्यक पर्ने खाद्यान्न, फूलमाला तथा अन्य सामग्रीका स्टल राखिनेछन्।
चाडपर्वको किनमेलसँगै फरक–फरक समुदायका खानाका स्वाद चाख्ने र मौलिक संस्कृतिसँग रमाउने अवसरसमेत महोत्सवले प्रदान गर्नेछ। यसबाट स्थानीय उत्पादन, परिकार र व्यवसायको प्रवर्द्धन हुनुका साथै उद्यमी तथा व्यवसायीलाई बजार विस्तारमा सहयोग पुग्ने विश्वास आयोजकको छ।
महोत्सवलाई थप आकर्षक बनाउन देउसीभैलो प्रतियोगिता, स्थानीय ब्यान्ड तथा राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति राखिनेछ। महोत्सवको पहिलो दिन औपचारिक उद्घाटनपछि देउसीभैलो प्रतियोगिता सञ्चालन हुनेछ। दोस्रो दिन स्थानीय ब्यान्डको प्रस्तुति रहनेछ भने अन्तिम दिन राष्ट्रिय कलाकारहरूले सांगीतिक प्रस्तुति दिने कार्यक्रम तय गरिएको छ।
यसले तिहारको परम्परागत सांस्कृतिक पक्षलाई मनोरञ्जनसँग जोड्दै नयाँ पुस्तालाई समेत मौलिक संस्कृति र परम्परासँग नजिक ल्याउने अपेक्षा गरिएको छ।
महोत्सवलाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न संघका अध्यक्ष नरिश्वर शर्मा पौडेलको अध्यक्षतामा मंगलबार बसेको कार्यसमिति बैठकले विभिन्न जिम्मेवारी बाँडफाँट गरेको छ।
बैठकले महोत्सव सञ्चालन तथा व्यवस्थापन मूल समितिको संयोजकमा अध्यक्ष पौडेललाई जिम्मेवारी दिएको छ। निवर्तमान अध्यक्ष हरिप्रसाद अर्याललाई मूल्यांकन, वरिष्ठ उपाध्यक्ष सुरज भट्टराईलाई सहसंयोजक तथा उद्योग उपाध्यक्ष दिनेश श्रेष्ठ र वाणिज्य उपाध्यक्ष मुक्तिप्रसाद अधिकारीलाई उपसंयोजकको जिम्मेवारी तोकिएको छ।
त्यस्तै, महासचिव ढकाललाई प्रशासन तथा समन्वय, कोषाध्यक्ष टीकाराम बञ्जाडेलाई आर्थिक व्यवस्थापन, सचिव दीपक चापागाईंलाई स्टल तथा पूर्वाधार व्यवस्थापन र सहकोषाध्यक्ष कमला पोखरेललाई सांस्कृतिक कार्यक्रम व्यवस्थापनको जिम्मेवारी दिइएको छ।
यसैगरी कार्यसमिति सदस्य रामबहादुर भण्डारीलाई सुरक्षा व्यवस्थापन, दीपक घिमिरेलाई ट्राफिक तथा पार्किङ व्यवस्थापन, विष्णुप्रसाद उपाध्यायलाई सरसफाइ व्यवस्थापन र लेखनाथ भण्डारीलाई स्टल व्यवस्थापनको जिम्मेवारी प्रदान गरिएको संघले जनाएको छ।
मौलिक खानाका परिकार, सांस्कृतिक प्रस्तुति र तिहारसँग जोडिएका सामग्रीलाई एउटै स्थलमा उपलब्ध गराउने महोत्सवले चाडपर्वको रौनक बढाउनुका साथै स्थानीय आर्थिक तथा व्यावसायिक गतिविधिलाई समेत चलायमान बनाउने अपेक्षा गरिएको छ।
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण यतिबेला दुई देशबीचको कूटनीतिक सम्बन्धका कारण मात्र चर्चामा छैन, उनले अपनाएको नयाँ कार्यशैलीका ...
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि आइतबार भारत प्रस्थान गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण ...
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा हुने भारत भ्रमणका लागि ३५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नाम सार्वजनिक भएको छ। प्रधानमन्त्रीको सचिवालयले ...