नवलपरासी–१ मा उद्योगी चौधरीलाई टक्कर दिदै त्रिपाठीदेखी जलेसासम्म

अजरन्यूज संवाददाता
बुटवल । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा नवलपरासी निर्वाचन क्षेत्र नं. १ मा चुनावी प्रतिस्पर्धा रोचक बन्दै गएको छ ।
पश्चिम नवलपरासीमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, जनता समाजवादी पार्टी र रााष्ट्रिय स्वतन्त्र पार्टीबीच नै चुनावी प्रतिस्पर्धा हुने देखिएको छ ।
अनुभवी र नयाँ अनुहारको मिश्रण रहेका कारण यस क्षेत्रको चुनावलाई निकै चासोका साथ हेरिएको छ । मतदाताको मन जित्न उम्मेदवारहरू गाउँ–बस्तीमा पुगेर प्रचारप्रसारलाई तीव्र बनाउँदै गएका छन् ।
नेपाली कांग्रेसबाट उद्योगपति विनोदकुमार चौधरी फेरी सांसदमा दोहोरिने तयारीका साथ चुनावी प्रचारप्रसारमा जुटेका छन् ।
नवलपरासी १ मा उद्योगपति चौधरीको प्रतिस्पर्धीको रुपमा जनता समाजवादी पार्टी (जसपा) नेपालका हृदयेश त्रिपाठी, एमालेका सुस्ता गाउँपालिकाका निर्वतमान अध्यक्ष रामप्रसाद पाण्डे, नेपाली कम्युनिष्ट पार्टीकी नेतृ सिन्धु जलेसा बुढाथोकी र उम्मेदवारी मनोनयन अघि कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेका विक्रम खनाललगायत छन् ।
नवलपरासी–१ मा बर्दघाट नगरपालिकासहित प्रतापपुर र सुस्ता गाउँपालिकाका सबै भूभाग पर्छन् । यी सबै पालिकामा कांग्रेसले जितेको छ । यस्तै, सरावल गाउँपालिकाका ४, ५, ६ र ७ नम्बर वडा यो क्षेत्रमा पर्छन् । त्यहाँ नेकपा (एमाले)ले जितेको छ ।
उम्मेदवारहरुले सडकदेखि स्वास्थ्य, सुस्ताको विद्युतीकरण, पुल निर्माणलगायत विकासका कामको फेहरिस्त बताउँदै मतदातासमक्ष पुगिरहेका छन् । निर्वाचनका समयमा व्यक्त गरेका प्रतिबद्धता यसअघि विजयी उम्मेदवारले पूरा नगरेको भन्दै मतदाताले उम्मेदवारहरु समक्ष गुनासो गर्ने गरेका छन् ।
उक्त निर्वाचन क्षेत्रबाट पाँचपटकसम्म चुनाव जितेका त्रिपाठी गुमेको साख फर्काउने कसरतमा छन् । ०४८ सालयताका सबै सात निर्वाचनमा उमेदवार बनेका उनी आठौँपटक जसपा नेपालबाट प्रतिस्पर्धामा छन् । ०७० को दोस्रो संविधानसभा र ०७९ मा उनले प्रतिनिधिसभा सदस्य निर्वाचन हारेका थिए । यी दुवै चुनाव उनले कांग्रेसका उमेदवारसँग हारेका हुन् । ०७९ मा त्रिपाठीलाई पराजित गर्दै उद्योगी बिनोद चौधरी संसद् प्रवेश गरेका थिए । त्रिपाठी हाल चार मधेसवादी दलको एकीकरणपछि बनेको जसपा नेपालबाट उमेदवार छन् ।
कांग्रेसका उम्मेदवार चौधरीलाई अर्को बलियो चुनौती आफ्नै दलबाट अलग भएका विक्रम खनालले दिएका छन । कांग्रेसले टिकट नदिएपछि मनोनयनपत्र दर्ता गराउनु एक दिनअगाडि रास्वपा पार्टी प्रवेश गरेर उनी उमेदवार बनेका छन । उनकै कारण पनि कांग्रेसमा मत विभाजन भएर अन्य उम्मेदवारलाई फाईदा पुग्ने अनुमान गरिएको छ ।
पहिले कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री समेत रहेका खनाललाई चौधरीलाई हराउन भूमिका खेलेको भन्दै पार्टीले कारबाही गरेको थियो । चुनाव आउनै लाग्दा कारबाही फुकुवा गरिए पनि उनी कांग्रेसमा बसेनन् ।
०७४ र ०७९ मा त्रिपाठीलाई समर्थन गरेर नवलपरासी १ मा एमालेले उमेदवार उठाएको थिएन । यसपालि एमालेले सुस्ता गाउँपालिकाका निर्वतमान अध्यक्ष रामप्रसाद पाण्डेलाई उम्मेदवार बनाएको छ । ०७९ मा नवलपरासी–१ मा समानुपातिकतर्फ एमालेले दोस्रो धेरै मत पाएको थियो ।
यस क्षेत्रबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट सिन्धु जलेसा बुढाथोकी उम्मेदवार छिन् । उनी ०७० मा एमालेबाट राष्ट्रियसभा सदस्य बनेकी थिइन् । उनि पनि यस क्षेत्रकी लोकप्रिय नेतृ हुन । बिभिन्न पार्टीहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीमा जनमत बढ्दै गएको आंकलन गरिएको छ । यस क्षेत्रमा उम्मेदवारहरुको घरदैलो अभियान र जनताको मौन अवस्था देख्दा यसैले चुनाव जित्छ भनेर अड्कल गर्न सकिने अवस्था नरहेको राजनैतिक विश्लेषकहरुले बताएका छन । परिणाम हेर्नका लागि भने फागुन २१ कुर्नैपर्ने अवस्था देखिन्छ ।
यसअघि कांग्रेसले जितेको यस क्षेत्रमा गत चुनावमा भन्दा अहिले दलका उम्मेदवार बढेका कारण मत विभाजनमा कस्तो प्रभाव पार्लान् भन्ने चासो बढेको छ ।
नेपालगन्ज । बाँकेको कोहलपुरबाट बर्दियाको राजापुरतर्फ जाँदै गरेको एम्बुलेन्सले आज आईतवार बिहान चार जनालाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। ...
सल्यान । सल्यानमा जन्ती सवार जीप दुर्घटना हुँदा तीन जनाको मृत्युु भएको छ भने १५ जना घाइते भएका छन् । ...
भैरहवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भैरहवा मालपोत कार्यालयका एक कर्मचारीलाई दुई लाख घुससहित पक्राउ गरेको छ । सर्जमिन मुचुल्काका ...