रूपन्देही – २ : कांग्रेस उम्मेदवार पौडेलले सार्वजनिक गरे २२ बूँदे प्रतिवद्धता पत्र

अजरन्यूज संवाददाता
बुटवल । रुपन्देही निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद पौडेलले प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् ।
यही फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका उम्मेदवार पौडेलले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पूर्वाधार विकास र सामाजिक सुरक्षालाई केन्द्रमा राखेर २२ वूँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।
पौडेलले प्रतिवद्धता पत्रमा सरकारी विद्यालयको स्तरोन्नति गरी कक्षा १२ सम्म अंग्रेजी र नेपाली माध्यमबाट निःशुल्क शिक्षा उपलब्ध गराउने वातावरण बनाउन भूमिका खेल्ने उल्लेख गरेका छन ।
यस्तै क्षेत्र नं. २ का सरकारी अस्पतालहरूको स्तर वृद्धि गरिने र कुनै पनि नागरिक उपचारको अभावमा ज्यान गुम्न नपरोस् भन्ने सुनिश्चित गर्ने उनको भनाइ छ ।
सधै चुनावी ऐजेण्डा बन्ने गरेको अव्यवस्थित बसोबास तथा सुकुम्बासी समस्या समाधान गर्दै दुई वर्षभित्र क्षेत्रका भूमिहीन नागरिकलाई जग्गा व्यवस्थापन गरिने पौडेलले उल्लेख गरेका छन । बस्तीबीचबाट गुज्रिएको हाईटेन्सन लाइन हटाउन पहल गरिने, शुद्ध खानेपानीको व्यवस्था मिलाइने र पूर्व–पश्चिम राजमार्ग विस्तारका कारण उत्पन्न डुबान समस्या समाधान गरिने योजना पनि घोषणा पत्रमा समेटिएको छ ।
यस्तै कृषिलाई उत्पादनमुखी बनाउँदै किसानलाई मल–बिउ सहज उपलब्ध गराउन पहल गर्ने, तिलोत्तमा र सैनामैना क्षेत्रमा सिंचाइ सुविधा विस्तार गरी उत्पादन वृद्धि गर्ने योजना उनले अघि सारेका छन ।
बेरोजगार युवा–युवतीलाई लक्षित गरी उद्योग स्थापना गर्ने, ‘एक घर एक रोजगार’ अवधारणा लागू गर्नेे प्रतिबद्धता पत्रमा भनिएको छ ।
तिनाउ र दानव नदी किनारलाई व्यवस्थित गर्दै हराभरा, स्वच्छ र सुन्दर करिडोर निर्माण गरिने तथा बुटवलबाट बगेर आउने फोहोर नियन्त्रणका लागि पहल गर्ने उल्लेख छ ।
कार्यक्रममा उनले आफ्नो घोषणा पत्र कागजी प्रतिबद्धतामा सिमित नराखी व्यवहारमा उतार्ने जिकिर गरे । घोषणा पत्र सार्वजनिक कार्यक्रममा युवराज गिरी, लुम्बिनी प्रदेश सदस्य चित्रबहादुर केसी लगायतले बोलेका थिए ।
कपिलवस्तु । कपिलवस्तुमा बोर्डिङ स्कुलको बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार एक जनाको मृत्यु भएको छ भने चालक घाइते ...
बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको राज्य सञ्चालनको अवस्थाप्रति असन्तुष्टि जनाउँदै राज्य राज्यजस्तो नरहेको टिप्पणी गरेका छन्। प्रेस ...
दाङ । दाङको देउखुरीमा मध्यराति भएको सडक दुर्घटनामा एक युवकको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। ...